बुटवल ।
नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ। बुटवल ११ देवीनगरका कुशललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याललगायतलले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित सम्मान गर्नुभयो । कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताउनुभयो । उहाँले आगामी दिनमा अरु प्रगति गर्दै नेपाली राष्ट्रिय क्रिकेट टीमको क्याप्टेन बन्ने गरी मेहनत गर्न शुभकामना दिदै बुटवलले हरेक हिसाबले साथ दिने बताउनुभयो ।
नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो कार्यक्रममा बोल्दै क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बुटवलले सम्मान गरेर खेलक्षेत्रको हौसला बढाएको बताउनुभयो । उहाँले बुटवलमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै बुटवल उपमहानगरको प्रयास उत्कृष्ट रहेको र यसमा खेलक्षेत्रको साथ रहने बताउनुभयो ।