८ चैत, काठमाण्डौ ।
भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ दिल्लीमा आज भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा यस्तो आग्रह गर्नुभएको हो । त्यस्तै सञ्चार मन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेकोतर्फ ध्यानाकर्षण गराउँदै भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकोले नेपाली च्यानलहरूको सहजै प्रसारण हुने वातावरण मिलाइदिन समेत आग्रह गर्नुभएको छ।
प्राकृतिक सौन्दर्य र संस्कृतिको धनी देश नेपाल चलचित्र छायाङ्कनका लागि अत्यन्त उपयुक्त स्थल भएकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले नेपालमा अत्याधुनिक छायाङ्कन स्टुडियो निर्माण गर्न भारतीय लगानीकर्ताहरूलाई उत्प्रेरित गरिदिन सहयोग गर्न पनि आग्रह गर्नुभएको थियो । यसैगरी सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रमा मध्यम र छोटो अवधिको तालिममा समेत नेपालबाट आधिकाधिक सहभागिता हुने वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो । भारत सरकारले नेपाललाई स्याटेलाइट उपयोग गर्न प्रस्ताव गरेकोमा धन्यवाद दिँदै उहाँले यसको प्राविधिक र सञ्चालनलागतका बारेमा थप अध्ययन गरी निष्कर्षमा पुग्ने जानकारी दिनुभएको थियो ।