काठमाडौं ।
भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० महिलाहरुको उद्धार गरिएको छ । आज (बिहीबार) भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखन बिरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारवाहीमा उद्धार गरिएको छ। यौन धन्दामा लगाइएका १० जना महिलाहरुलाई उद्धार गरी मानव बेचबिखन बिरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो ।
उद्धार गरिएका महिलाहरु उमेर १५, १६, १७, १८, २० र २५ वर्षका रहेका छन । प्रारम्भिक अनुसन्धानमा खुलेको जानकारीका अनुसार नेपालमा रहेका उसका सहयोगीहरुले भारतमा राम्रो तलवमा राम्रो काम दिने बहानामा नेपाली महिलाहरुलाई दिल्ली पुर्याउने गरेको र दिल्लीमा टिकाराम भण्डारी र उनकी श्रीमती टिका ओलीले उनिहरुलाई दिल्लीमा फ्ल्याटमा राखेर यौनधन्दा गराउने गरेको खुलेको छ ।