काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना धरौटीमा रिहा भएका छन्। गत आइतबार उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकिएको थियो। धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का मंगलबार धरौटी बुझाएर रिहा भएका जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिनुभएको छ ।
गत चैत ७ गते काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध उनीहरुले नाराबाजी गरेका थिए । त्यसक्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएपछि तिव्र आलोचना समेत भएको थियो ।