झविन्द्र देवकोटा, बुटवल।
रुपन्देहीको देवदहस्थित बंगालीमा रहेको जनता माध्यमिक विद्यालयका पाँच जना गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृतिका लागि ५१ हजार बराबरको आर्थिक सहयोग गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशले शैक्षिक क्षेत्रको विकासका लागि र आर्थिक अभावमा ड्रपआउटको समस्यालाई कम गर्न छात्रवृति कार्यक्रम मार्फत जनताका पाँच विद्यार्थीका लागि आधा लाखबढीको सहयोग गरेको हो । देवदह नगरप्रमुख धुर्व खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मणि उजेशका अध्यक्ष डाक्टर शान्ता शर्माले छात्रवृति वापतको उक्त रकम विद्यालय ब्यस्थापन समिति अध्यक्ष प्रेम पाण्डे, प्रधानाध्यापक कृष्णप्रसाद अर्याल र विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
मणि उजेशले कक्षा आठमा अध्ययन गर्ने तीन जना र नौमा अध्ययन गर्ने दुई जना विद्यार्थीको मासिक शुल्क, टिउसन शुल्क, यातायात खर्च, पोशाक, ब्याग, जुत्ता लगायत शैक्षिक सामग्रीका लागि उक्त सहयोग प्रदान गरेको हो । कार्यक्रममा नगरप्रमुख धुर्व खरेलले विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्न तथा प्रोत्साहन गर्न छात्रवृति रकमले ठुलो मद्दत पुग्ने बताउँदै गरिवसँगै जेहन्दार विद्यार्थीका लागि हौसला प्रदान हुने बताउनुभयो । उहाँले लायन्स लगायतका विभिन्न संघसंस्थाले शिक्षामा गरेको योगदान स्मरणीय रहेको उल्लेख गर्दै समाजिक कार्यक्रममा स्थानीय सरकार पनि सँगसँगै रहने विचार राख्नुभयो ।
मणि उजेशका सचिव पुष्पा कण्डेलको संचालनमा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पीका डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, क्याविनेट सेक्रेटरी विनोद खरेल, जोन चियर प्रशन सोनाली गुरुङ्ग, मणि उजेशका निवर्तमान अध्यक्ष इन्जिनियर प्रविना घिमिरे, कटानी आधारभुत विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डे लगायतले शैक्षिक क्षेत्रमा हुने सहयोगले विद्यार्थीलाई उच्च शिक्षाका लागि मनोवल बढ्ने बताउनुभयो । छात्रवृति कार्यक्रमका लागि मणि उजेशका अध्यक्ष डा। शान्ता शर्मा, प्रथम उपाध्यक्ष रितु गुरुङ्ग र सचिव पुष्पा कण्डेलले सहयोग गर्नु भएको कोषाध्यक्ष सीमा बस्यालले जानकारी दिनुभयो। यस अघिपनि मणि उजेशले सोही विद्यालयका तीन जना विद्यार्थीलाई माविसम्मको छात्रवृति प्रदान गरेको उहाँले बताउनुभयो ।