काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोग सम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको मुद्धा संवैधानिक इजलासमा सुनुवाइ गरेकाले मुद्दा हेर्न नमिल्ने भएपछि रिटमाथि सुनुवाइ हुन नसकेको हो । अधिवक्ता युवराज पौडेल(सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ । यसअघि, सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गर्नुभएको थियो ।