काठमाडौं ।
सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ। काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको वायुसेवा सञ्चालक संघकाले जनाएको छ। यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिर्नुपर्दथ्यो। यो भाडादर २२ चैतदेखि लागु हुने जनाईएको छ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा भाडा ३४५ रुपैयाँले घटेको छ। अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ भने काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ ।
विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ । काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ । नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटेको छ ।