काठमाडौं ।
आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । मधेश प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल तीन लाख ९० हजार थान मतपत्र निर्वाचन आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट छपाइ पूरा गरेको हो । तयार भएका मतपत्र सुरक्षा प्रबन्धसहित बुधबारदेखि सम्बन्धित निर्वाचन क्षेत्रका लागि ढुवानी गरिने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि कूल ६७ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्। बारा क्षेत्र नं २ मा एक लाख १६ हजार, चितवन क्षेत्र नं २ मा एक लाख ३८ हजार र तनहुँ क्षेत्र नं १ का लागि एक लाख ३६ हजार मतपत्र छपाइ गरिएको छ । ती क्षेत्रमा मनोनयपत्र दर्ता गर्ने उम्मेदवारका आधारमा निर्वाचन चिह्नसमेत समावेश गरी मतपत्र छपाइ भएको हो ।