बुटवल।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ। आगामी जेठ दोस्रो सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा नियमित उडानको तयारी गरेको हो। भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभएको छ।
त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ। निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ। विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो।