बुटवल ।
बुटवलको जितगढीमा नेपाल–अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको खुशीयालीमा बिहीबार जितगढी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी उत्सव मनाएको हो । बिहीबार जितगढी उत्सवका अवसरमा जितगढी उत्सव मूल समारोह, गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत तथा पैदल यात्रा समापन कार्यक्रम भएको छ । बिहीबार बिहान ११ बजे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्षहरु, पूर्वजनप्रतिनिधि, संघसंस्था तथा स्थानीयले पैदलयात्रामा सहभागी टोली र नेपाली सेनाका मध्यपश्चिम पृतनापतिसहितको टोलीलाई स्वागत र सम्मान गर्नुभएको थियो।
बुटवल १ गणेशमन्दिरनजिकैबाट बाजागाजासहित शुरु भएको पैदलयात्रीसहितको विजय¥याली जितगढी किल्लामा पुगेको थियो । जितगढी किल्लामा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले जितगढी किल्ला अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो। उहाँले जितगढी किल्लाले बुटवलको पहिचानलाई उच्च बनाउँदै लगेकोले किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई उत्तिकै महत्व दिनुपर्ने बताउनुभयो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लाको ऐतिहासिक र पुरातात्विक महत्वलाई स्थापित गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले आगामी वर्षदेखि नियमित रुपमा हरेक वर्ष वैशाख ७ गते जितगढी उत्सव मनाइने र बुटवलकै उत्सवका रुपमा यसलाई स्थापित गर्ने बताउनुभयो। उहाँले किल्लाक्षेत्र र आसपासको पर्यटनका साथसाथै पुरानो बुटवललाई समेत जोडेर पर्यटकीय स्थलको रुपमा विकास र प्रवद्र्धन गर्ने बताउनुभयो ।
नेपाली सेनाका मध्यपश्चिम पृतिनापति यामप्रसाद ढकालले नेपाली सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउँदै युद्ध पर्यटनको रुपमा जितगढी किल्लाको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले जितगढी किल्ला नेपाली सेनाका लागि पनि महत्वपूर्ण थलोका रुपमा रहेकाले यसको संरक्षण र प्रवद्र्धनमा नेपाली सेना सधै बुटवल उपमहानगरपालिकासँगै रहने बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जितगढी किल्लाले बुटवलको गरिमा बढाएको बताउँदै पर्यटन प्रवद्र्धनमा समेत जितगढी किल्लाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी, अध्येता निर्मल श्रेष्ठ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजु, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेललगायतले बोल्दै जितगढी किल्लाको संरक्षण र पर्यटन प्रवद्र्धनमा भएको प्रयासले बुटवलले लाभ लिनसक्ने बताउनुभयो ।