बुटवल ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको तेस्रो महाधिवेशन बुटवलमा हुनेभएको छ। यही वैशाख १६ गतेदेखि बुटवल मण्डपस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने महाधिवेशनको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष एवं आयोजक समितिका संयोजक नारायण खनाल लेकालीले जानकारी दिनुभएको छ। अधिवेशनमा देशभरबाट प्रतिनिधी, पर्यवेक्षक गरी पाँच सय जनाको सहभागिता रहने बताईएको छ ।
महाधिवेशनको बन्द सत्र बुटवल १२ नयाँगाउँस्थित मुक्तिनाथ धाममा हुने गरी तयारी गरिएको छ। महाधिवेशनका लागि १५ वटा विभिन्न उपसमिति गठन गरी तयारीका कामहरू अगाडि बढाइएको संयोजक लेकालीले बताउनुभयो । प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रजापती पराजुलीले धर्म, संस्कार र परम्परालाई बचाउन र संस्कृति संरक्षणका लागि प्रतिष्ठानले आवाज उठाउँदै बताउनुभएको छ । नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको भजन तथा चुड्काहरूको संरक्षण गर्दै नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले २०६७ सालमा प्रतिष्ठानको स्थापना गरिएको थियो। दुईदिन सम्मे चल्ने महाधिवेशनमा लोक संस्कृतिको उद्गमस्थल मानिने लुम्बिनी र गण्डकीका विभिन्न स्थानका मौलिक भजन तथा चुड्काहरूको प्रस्तुति समेत रहनेछ। सोहि महाधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ। प्रतिष्ठानमा हाल ५१६ जना आजिवन सदस्य छन् भने ४ सय साधारण सदस्य रहेका छन्।