१३ बैशाख , एजेन्सी ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले थप एउटा भारतीय कफ सिरपको बारेमा चेतावनी जारी गरेको छ । डब्ल्यूएचओले गुआइफेनेसिन टीजी नामको सिरपको परीक्षण गरेको नमुनामा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको मात्रा अनुमतिभन्दा बढी भेटिएको भन्दै चेतावनी जारी गरेको हो । डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल प्राणघातक हुन सक्छ । तर यो सिरप प्रयोग गर्नेहरूलाई परेको असरबारेमा भने डब्ल्यूएचओले नखुलाएको बीबीसी हिन्दीले जनाएको छ ।
तर यो सिरप उत्पादन गर्दै आएको क्युपी फार्माकेमका प्रबन्ध निर्देशक सुधीर पाठकले कम्पनीले सबै आवश्यक नियामकहरूबाट अनुमति लिएर कम्बोडियामा १८ हजारभन्दा बढी बोतलको ब्याच निर्यात गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि डब्ल्यूएचओले भारतमा बनेको कफ सिरपका कारण गाम्बिया र उज्वेकिस्तानका बालबालिकाको ज्यान भएको भन्दै दुई वटा कफ सिरपमाथि चेतावनी जारी गरेको थियो ।