काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख रहेको उहाँको स्वकीय सचिवालयले जनाएको छ। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उहाँको अहिले उपचार चलिरहेको छ । उहाँको स्वास्थ्यसम्बन्धी केही परीक्षणको रिपोर्ट अझै आउन बाँकी रहेको चिकित्सकले राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकको टोली तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनुभएको सचिवालयले स्पष्ट पारेको छ । यो कुरा प्रधानमन्त्री दाहालले सार्वजनिक कार्यक्रममा नै बताइसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।