१६ बैशाख, काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गर्नुभएको छ। झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको टिप्पणी समेत गर्नुभयो। शनिबार एक विज्ञप्ति निकाल्दै अध्यक्ष केसीले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाउनुभएको हो। गत बुधबार झापामा अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामाकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमण गरेका थिए।
कोशी प्रदेशको नामाकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था आउन सक्ने भन्दै उहाँले यथाशीघ्र संघीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा राख्नुभयो। साथै केसीले प्रशासनिक एकाइका रुपमा प्रदेश १ को नाम कोशी राख्नु उपयुक्त भएको जिकिर गर्नुभएको छ ।