बुटवल ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रुपन्देहीको आयोजनामा १३४औँ मजदुर दिवसको अवसरमा अन्तरक्रियात्मक कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । नेकपा (बहुमत) र नेकपा क्रान्तिकारी माओवादीबीच आजै पार्टी एकता भइ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको घोषणा काठमाडौमा गरिएको छ। रूपन्देहीमा पनि मजदुर दिवसलाई पार्टी एकता घोषणाको उत्सवको रुपमा अन्तरक्रियात्मक कार्यक्रम गरि मनाइएको जनाएका छन। कार्यक्रममा बोल्दै प्रमूख अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेलले मजदुर दिवसको ऐतिहासिक दिनमा दुई पार्टी एकता गरेर नेपाली क्रान्तिकारी आन्दोलनको नयाँ प्रस्थानविन्दु तय गरेकाले उर्जाका साथ अघि बढ्न आह्वान गर्नुभयो। साथै उनले विभिन्न क्षेत्रमा काम गरिरहेका मजदुरहरूको शोषण र उत्पीडनको विरुद्धमा पार्टीले मजदुरहरूलाई संगठित गरेर क्रान्तिकारी मजदुर आन्दोलनलाई उचाइमा पुर्याउने बताउनुभयो । साम्राज्यवाद, दलाल पुँजीवाद नयाँ नयाँ प्रयोगबाट आइरहेको बताउँदै त्यसको विरुद्ध लड्न आवश्यक तयारीमा रहनसमेत आह्वान गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय सदस्य नुमकला पुनले सबैभन्दा बढी शोषण र उत्पीडनमा महिला मजदुरहरू रहेको भन्दै त्यसको विरुद्ध निर्ममतापुर्वक लाग्नुपर्ने बताउनुभयो । दुई पार्टीबिचको एकताले प्रतिक्रियावादी सत्तामा तरङ्ग आएको भन्दै छरिएर रहेका क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीनेपालका दिप, दलित मुक्तिमोर्चा केन्द्रीय सदस्य विक्रम नेपाली, समाजसेवी रामकृष्ण शर्मालगायतले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य भीमलाल काफ्लेको अध्यक्षता, कमला को स्वागत मन्तव्य,पारस राहादी मगरको सञ्चालनमा सम्पन्न भएको थियोे ।