एजेन्सी ।
अकल्पनीय ‘मोका’ आँधीको चेतावनीसँगै ५ लाख बङ्गलादेशीलाई सुरक्षित स्थानतर्फ सारिएको छ। बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोका’ नामक चक्रवातले विध्वंस निम्ताउने सक्ने भन्दै ५ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोकाको सम्भावित बिध्वसबाट बचाउनका लागि बङ्गलादेशी सरकारले १५ सय अस्थायी शिविर निर्माण गरेको छ। जसमा ५ लाख सर्वसाधारणलाई स्थानान्तरण गरिएको छ। प्रतिघण्टा १ सय ७० किलोमिटरको बेगले आउने ‘मोका’ नामको आँधीले बङ्गलादेशको कक्स बजार बढी प्रभावित हुन सक्ने आकलन गरी सो शिविरहरू निर्माण गरिएको हो। सो आँधी आइतबार साँझ कक्स बजारको जमिनलाई तहसनहस गरेर अघि बढ्ने मौसमविद्हरूले अनुमान गरेका छन।
सोही बजारमा करिब १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन। हाल बङ्गलादेशमा भारी वर्षा भइरहेको छ भने आँधीबाट सुरक्षित स्थानमा जानका लागि सरकारले माइकमार्फत अनुरोध गरिरहेको छ। यसैगरी, कक्सलगायतका बङ्गलादेशका प्रभावित हुन सक्ने क्षेत्रहरूमा निरन्तर साइरनसहित रातो झन्डा फहराएर चेतावनी दिइएको छ। अझै केही दिनसम्म सक्रिय रहने मोका आँधीले बाढी पहिरो समेत ल्याउन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित हुन अपिल गरिएको छ। बङ्गलादेशले दुई दशकपछि आइरहेको सबै भन्दा शक्तिशाली आँधीको रूपमा मोकालाई लिएको छ।