एजेन्सी ।
“मोका”चक्रवात बङ्गलादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ । प्रतिघण्टा दुई सय किलोमिटरभन्दा बढी गतिमा आएको आँधीसहितको शक्तिशाली चक्रवात तटीय क्षेत्रमा बज्रिएको बीबीसीले जनाएको छ । म्यानमारको सित्वेमा मोका चक्रवातका कारण बिजुली र इन्टरनेट सेवा बन्द भएको छ । टेलिफोन टावर तथा रुखहरू पनि ढलेका छन् । मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन् । चक्रवातलाई लिएर दक्षिण–पूर्वी बङ्गलादेशका झन्डै पाँच लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
कोक्स बजारबाट मात्रै कम्तीमा दुई लाख मानिसलाई सुरक्षित ठाउँमा लगिएको छ । कोक्स बजारमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि त्यसको प्रभाव पर्नसक्ने अनुमान छ । झन्डै १० लाख मानिस रहेको शिविरमा रोहिङ्ग्या शरणार्थीहरू बस्छन् । बङ्गलादेश सरकारले शरणार्थीहरूलाई शिविरबाट बाहिर जान दिँदैन । मोका चक्रवात बङ्गलादेशले झन्डै दुई दशकयता सामना गरेको सबैभन्दा शक्तिशाली आँधी बन्नसक्ने मौसमविद्हरूको अनुमान छ । यसैबीच म्यानमारको मण्डले क्षेत्रको न्याउङ–उ सहरमा ५८ वर्षयताकै सबैभन्दा धेरै एकै दिन एक सय ६१ मिलिमिटर वर्षा भएको म्यानमारको मौसम विभागले जनाएको छ ।