काठमाण्डौ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसूति सेवाअन्तर्गत ३८ वर्षीया महिलाले आज दिनको १२ः४० मा ३.१८ केजीको स्वस्थ छोरालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । ख्वप अस्पतालले पहिलोपटक बिहीबार शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गरेको हो । बिहीबार भक्तपुर नपा वडा नं. ७ गोल्मढीका एक महिलालाई शल्यक्रियामार्फत प्रसूति सेवा प्रदान गरिएको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले जानकारी दिनुभयो । ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन भएसँगै धेरै महिलाहरूलाई सजिलो हुने भएको छ।
डा. युजिन श्रेष्ठ र डा. कृष्णप्यारी दुगुजुको संयुक्त स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेको थियो। शल्यक्रियामा एनेस्थेसियोलोजिस्ट डा. सन्देश ख्वान्जु, बाल रोग विशेषज्ञ डा. विजय चिकंबन्जार, स्टाफ नर्सहरू रविना कवां, गीता सुवाल, सोनी जोशी र रिचा कोजुलगायतका स्वास्थ्यकर्मी र चिकित्सक खट्नुभएके थियो । ख्वप अस्पताल सञ्चालनको २ वर्ष पुगेको अवसरमा अस्पतालले २०८० वैशाख १७ गतेबाट प्रसूति सेवा विस्तार गरेको थियो । ख्वप अस्पतालले यो अवधिमा १४ वटा मेजर सर्जरी र ४१ वटा माइनर सर्जरी गरेको बताइएको छ ।