एजेन्सी ।
चर्चित फ्रान्सेली स्ट्राइकर करिम बेन्जेमाले अन्ततः रियल मड्रिड छाडेका छन् । १४ वर्ष स्पेनिस क्लबमा बिताएका ३५ वर्षीय बेन्जेमाले क्लब छाडेको पुष्टि रियल म्याड्रिडले पनि गरेको छ । ‘हाम्रा कप्तान करिम बेन्जेमा क्लब छाडन सहमत भएका छन्,’ रियल मड्रिडले आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेको छ । क्लबले बेन्जेमाको रियल बसाइलाई अविस्मरणीय भनी उल्लेख गरेको छ । ‘महान् खेलाडी बेन्जेमाको रियल बसाई धेरै अर्थमा महत्त्वपूर्ण रह्यो । उहाँले हाम्रो क्लबमा बिताएको क्षण अविस्मरणीय छ,’ रियलले भनेको छ ।
बेन्जेमा सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएका थिए । रियलमा आबद्ध हुँदा उनको उमेर केवल २१ वर्ष थियो । ‘रियल मड्रिडको स्वर्णिम युगका उनी महत्त्वपूर्ण सदस्य हुन्,’ रियलले भनेको छ । क्लबका लागि १४ सिजन खेल्दा उनले रियललाई २५ वटा महत्त्वपूर्ण उपाधि जिताएका थिए । यो आफैमा कीर्तिमान पनि हो । बेन्जेमाले रियल म्याड्रिडलाई पाँचवटा युरोपियन कप, पाँचवटा क्लब विश्वकप, चारवटा युरोपियन सुपर कप, चारवटा स्पेनिस ला लिगा, तीनवटा कोपा डेल रे र चारवटा स्पेनिस सुपर कपको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए ।