पाल्पा ।
पाल्पामा हिजो भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । जिल्लाको रैनादेवि छहरा गाउँपालिका–८ किउरेछेडाँमा हिजो बेलुका भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा ज्यान गएको हो भने अन्य ३ जनाले हिजै ज्यान गुमाएका थिए । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनाका लागि छुटेको लु १ च ९०२४ नम्बरको जीप हिजो बेलुका दुर्घटना भएको हो । ज्यान गुमाउनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने जीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र दुई वर्षीय बालक संयोग गौतम रहेका छन् ।
घाइते ११ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते पाँच जनाको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा, दुई जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।