२८ जेठ, एजेन्सी ।
यस वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता ‘फ्रेन्च ओपन’को पुरुष एकलतर्फको फाइनल आइतबार हुँदैछ । फाइनलमा सर्बियन खेलाडी नोभाक योकोभिचलाई नर्वेजियन खेलाडी कास्पर रुडले चुनौति दिँदैछन् । विश्वभरका टेनिसप्रेमी यो फाइनल खेलको प्रतिक्षामा छन् । खेलमा हारजित स्वभाविक हो । तर, यो फाइनल खेलमा एउटा कीर्तिमान बन्न सक्ने सम्भावना छ । ३६ वर्षीय योकोभिच कीर्तिमान बनाउन आतुर देखिएका छन् । यसको विपरित २४ वर्षीय कास्पर भने योकोभिचको लक्ष्यका अगाडि पर्खाल बनेर उभिने पक्का छ । कास्परले हालसम्म एउटा पनि ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितेका छैनन् । त्यसैले उनका लागि पनि यो खेल निकै महत्वपूर्ण छ । योकोभिचलाई हराउन सके कास्परले आफ्नो खेल जीवनकै पहिलो ग्रान्डस्लाम उपाधि चुम्नेछन् । अर्कोतिर, योकोभोचिले उपाधि जिते भने उनी विश्व टेनिसको सर्वकालीन महान खेलाडी बन्नेछन् । फ्रेन्च ओपनको उपाधि जितेमा उनको ग्रान्डस्लाम उपाधि संख्या २३ पुग्नेछ । अहिलेसम्म सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमान योकोभिच र स्पेनिस खेलाडी राफेल नाडालको संयुक्त नाममा छ ।
योकोभिच र ३७ वर्षीय नाडालले हालसम्म २२÷२२ वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । यस पटक फ्रेन्च ओपनको उपाधि जिते योकोभिचले नाडाललाई पछाडि पार्नेछन् । त्यसपछि योकोभिच २३ वटा ग्रान्डस्लाम उपाधि चुम्ने विश्वकै पहिलो खेलाडी बन्नेछन् । योकोभिच भने आफ्नो सफलताप्रति आशावादी देखिएका छन् । ‘म फाइनलका लागि आतुर छु । उपाधि जित्न सक्दो प्रयास गर्नेछु । कास्परको प्रदर्शन पनि उत्कृष्ट छ त्यसैले आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर सम्झने भुल मबाट हुनेछैन,’ योकोभिच भन्छन् ।
योकोभिचले हालसम्म १० पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । उनले सात पटक विम्बल्डनको उपाधि चुमेका छन् । योकोभिचले हालसम्म तीन पटक यूएस ओपनको उपाधि हात पारेका छन् । योकोभिचले सबैभन्दा कम उपाधि जितेको ग्रान्डस्लाम प्रतियोगिता भने फ्रेन्च ओपन नै हो । उनले हालसम्म दुई पटकमात्र फ्रेन्च ओपनको उपाधि जित्न सकेका छन् । उनले पछिल्लो पटक यसै सिजनको अस्ट्रेलियन ओपन जितेका थिए । रुड यसअघि सन् २०२२ मा पनि यूएस ओपन र फ्रेन्च ओपनको फाइनलमा पुगेका थिए । तर, त्यतिबेला उनी क्रमशः कार्लोस अल्कारज र राफेल नाडालसँग पराजित भएका थिए । ‘पक्कै पनि आफ्नो खेलजीवनको पहिलो ग्रान्डस्लाम उपाधि जित्न मैले सक्दो प्रयास गर्नेछु,’ कास्पर भन्छन्, ‘यसअघिका कमजोरीहरुबाट पनि मैले शिक्षा लिएको छु ।’