एजेन्सी ।
लगातारको भारी वर्षाका कारण उत्तर सिक्किममा दुई हजारभन्दा बढी पर्यटक फसेको समाचार छ । समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबारदेखि लगातार वर्षा भइरहेको र सडकहरूमा लामो जाम भएको अधिकारीहरूले बताएका छन्। उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो प्याङगोङ सप्लाई खोलामा अवरुद्ध भएकोले ट्राफिक समस्या भएको अधिकारीहरूले बताएका छन्। यही कारण लाचेन र लाचुङ क्षेत्रका होटलहरूमा १९७५ स्वदेशी र ३६ विदेशी पर्यटक अलपत्र परेका छन् । विदेशी पर्यटकमध्ये २३ जना बंगलादेश, १० जना अमेरिका र ३ जना सिंगापुरका छन् । यसबाहेक उत्तर सिक्किमका विभिन्न क्षेत्रमा ३ सय ४५ चार पाङ्ग्रे र ११ मोटरसाइकल पनि फसेका छन् । वर्षा रोकिएपछि सडक सफाइको काम सुरु हुने अधिकारीहरूले बताएका छन् ।