अमेरिकाको दक्षिणी भागमा पनि जुलाई अहिलेसम्मकै सर्वाधिक गर्मी महिना बन्नसक्ने वैज्ञानिकहरुले बताएका छन् । संयुक्त राष्ट्रसङ्घले युरोपमा खतरनाक उष्णलहर अझै बढ्नसक्ने चेतावनी दिएको छ । विश्वको औसत तापक्रम जुलाई ७ मा पहिलोपल्ट १७ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
यस्तै विश्वभरका समुद्रको औसत तापक्रमले पनि मे, जुन र जुलाई महिनामा विगतको तथ्याङ्कमा नयाँ कीर्तिमान बनाएको छ । अन्टार्कटिकाका महासागरमा समुद्री बरफले ढाकिएको क्षेत्र विगतका जुलाई महिनाको तुलनामा अहिलेसम्मकै कम छ ।
वैज्ञानिकहरूले यस्ता कीर्तिमानहरू आउँदा वर्षहरूमा अझै तोडिँदै जाने बताएका छन् । लन्डन स्कुल अफ इकोनोमिक्सका वातावरणीय भूगोलविद् थोमस स्मिथले मौसम प्रणालीका सबै हिस्सा एकैपटक असामान्य अवस्थामा रहेको यस्तै परिस्थिति यसअघि नदेखिएको बताउनुभएको बीबीसीले जनाएको छ ।
यस्ता घटनाहरुलाई जलवायु परिवर्तनका कारणसँग जोड्न सजिलो नभए पनि मुख्य कारण त्यही हुन सक्ने वैज्ञानिकहरुको भनाइ छ । मौसम सम्बन्धी नयाँ कीर्तिमानहरुले मौसमजन्य विपद्का घटना बढ्ने वैज्ञानिकहरुको चिन्ता छ ।