एजेन्सी ।
विश्वका उत्कृष्ट हास्य कलाकारको रूपमा चर्चित चार्ली च्याप्लिनकी छोरी जोसेफिन च्याप्लिनको निधन भएको छ । उनी ७४ वर्षकी थिइन् । उनको निधन पेरिसमा भएको हो । उनी चार्ली च्याप्लिनकी ११ औँ सन्तानमध्ये ६ नम्बरकी छोरी थिइन् । जोसेफिनको परिवारले उनको निधनको पुष्टि गरेको हो । जोसेफिन एक अभिनेत्री थिइन् । उनका तीन छोरा छन् – जुलिन रोनेट, चार्ली र आर्थर । परिवारले जारी गरेको बयानमा उनको १३ जुलाईमा पेरिसमा निधन भएको बताइएको छ । जोसेफिनले थुप्रै फिल्ममा काम गरिन् तर उनले सन् १९७२ मा रिलिज भएको फिल्म ‘द क्यान्टबरी टेल्स’ बाट पहिचान पाइन् । यसलाई पियर पाओल पासोलिनीले बनाएका थिए ।
उनी ‘श्याडोम्यान’ मा आधारित फ्रेन्च मिनी–सिरिज ‘द म्यान विदाउट अ फेस’ मा देखिइन् । सिरिजको सफलतापछि उनले न्युटिस रुज, द पिक्स अफ जेलेन्गोरा, ज्याक द रिपर, द बे बोय र डाउनटाउन हिटजस्ता थुप्रै फिल्ममा काम गरेकी थिइन्। जोसेफिन च्याप्लिनको जन्म २८ मार्च सन् १९४९ मा क्यालिफोर्नियाको सेन्ट मोनिकामा भएको थियो । उनी पहिलो पटक आफ्ना पिता चार्ली च्याप्लिनको फिल्म ‘लाइमलाइट’ मा देखिएकी थिइन् । यो फिल्म सन् १९५२ मा रिलिज भएको थियो । जेसोफिनले फ्रान्सका अभिनेता मौरिस रोनेटसँग पहिलो विवाह गरेकी थिइन् र उनी बाँचुन्जेल सँगै बसिन् । यी दुईका एक छोरा छन्, जुलिन रोनेट ।
जोसेफिन च्याप्लिनको तीन विवाह
जोसेफिन च्याप्लिन त्यसपछि निकोलस सिस्टोवारिसको प्रेममा परिन। उनीबाट उनका एक छोरा जन्मिए, चार्ली । सन् १९८९ मा जोसेफिनले फ्रान्सका पुरातत्त्वविद् जिन–क्लाउड गार्डिनसँग विवाह गरिन। यो विवाहबाट उनका आर्थर नामका छोरा जन्मिए ।