देवदह // देवदह नगरपालिकाले ऐतिहासिक पुरातात्विक क्षेत्रको रुपमा रहेको खयरडाँडा क्षेत्रको उत्खनन् गर्ने टोलीलाई सम्मान गरेको छ। मंगलबार एक कार्यक्रमको आयोजना गरि उत्खनन् कार्यमा खटिने ८ जनालाई सम्मान गरेको हो।
सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुव प्रसाद खरेलले देवदह नगरपालिकालाई पर्यटकीय हवको रुपमा विकास गर्ने गरी अघि बढेको बताउनुभयो। उहाले उत्खनन्मा खटिने सबैलाई धन्यवाद दिदै नगरपालिकाले यस आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा समेत उत्खनन् गर्ने कार्यक्रम ल्याएको हुदा उत्खनन् कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो। देवदह ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई धार्मिक पर्यटनको केन्द्र बनाउन लामो समयदेखि नगरपालिका र स्थानीय अगुवाहरूद्वारा प्रयास समेत गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ्ग, निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा, वडा नं. ९ का अध्यक्ष मोहन बहादुर जि.सी. लगाएतको उपस्थिती रहेको थियोे।
लुम्विनी विकास कोषका वरिष्ठ पुरात्व अधिकृत हिमाल कुमार उप्रेती, पुरात्वव अधिकृत हरी प्रसाद भुसाल, ना.सु. नवराज अधिकारी, ना.सु. चन्द्र प्रकाश पाठक, खरिदार अख्तर हुसेन मुसलमान, पुरातत्वविद अम्बिका सुब्बा, पुरातत्वविद सुदिक्षा पोख्रेल र पुरातत्वविद निशा पन्थीलाई सम्मान गरिएको हो।
कार्यक्रम देवदह नगरपालिका अधिकृत गंगा प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो। उत्खनन् क्रममा करिब १४ देखि १६ औं शताब्दीको जस्तो देखिने भग्नावशेष, माटोको भाडा र इनार भेटिएको छ।