देवदह ।
रुपन्देहीको देवदहमा पाचौ उपशाखा स्तरीय शिक्षक नायक गोष्ठी तथा डेगु रोग नियन्त्रण एवं रोकथाम सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाको आयोजना र नेपाल युवा रेडक्रस सर्कल देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाले शैक्षिक सत्रमा गर्ने बार्षिक योजनालाई प्रधानाध्यमपकको गोष्ठीले निर्णय गरीसकेको र त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर गोष्ठीमा छलफल भएको थियो। उपशाखाले शैक्षिक सत्र २०८० को लागि ११ वटा प्रतियोगिताको बार्षिक योजना तर्जुमा गरेको र त्यसलाई देवदह क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुले जिम्मेवारी लिने निर्णय गरीसकेको छ।
बार्षिक कार्ययोजनालाई विद्यार्थी तह सम्म पुर्याउन शिक्षक नायकहरुले गोष्ठीमा छलफल गरी सोही अनुसार कामलाई तिव्रता दिने निर्णय गरेको उपशाखाका सभापति कृष्णप्रसाद न्यौपानेले जानकारी दिनु भयो। यसैगरी उपशाखाले तर्जुमा गरेको बार्षिक तालिम एवं प्रशिक्षण कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने गोष्ठीले निर्णय गरेको छ। सो अवसरमा बोल्दै देवदह नगरपालिका–५, का वडाअध्यक्ष एवं नगर प्रवक्ता गणेश डुम्रेले विद्यार्थीहरुको माध्यमबाट रेडक्रसका हरेक क्रियाकलाप नागरिक समक्ष पुर्याउन शिक्षक नायकहरुले भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो। उहाले रेडक्रसको माध्यमबाट विद्यार्थीहरुको नेतृत्व विकास गर्न सकिनेमा जोड दिनु भयो। पछिल्लो समयमा डेंगु रोगका विरामी बढिरहेको बताउदै समुदायमा आधारित सरसफाई अभियान संचालन गर्न सके डेंगु नियन्त्रण गर्न सकिनेमा जोड दिनु भयो।
नेपाल रेडक्रस सोसाईटी देवदह उपशाखाका सभापति कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा देवदह प्रहरी चौकीका प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरी, सञ्चारकर्मी तिलोचन दहाल, जनता माविका बिमला अर्याल, ग्रिन प्लान्ट आवासीय माविका धनमाया शर्मा, महामाया भवानी माविका भिमप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो। कार्यक्रमा जुनियर युवा रेडक्रसका सहसंयोजक विकास गहतराजले बार्षिक योजना प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा देवदह बुद्धपव्लिक आवासीय माविका अध्यक्ष एवं स्वाथ्यकर्मी जयकिशन अधिकारीले डेंगु रोग र रोकथामको विषयमा अभिमुखीकरण गर्नु भएको थियो। देवदह बुद्ध पव्लिक आवासीय माविका प्रिन्सिपल कृष्णप्रसाद गैरेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो।