देवदह // रुपन्देहीको देवदह नगरपालिकामा मेलमिलाप संयोजकहरुलाई सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। न्यायीक समितिले सोमबार एक कार्यक्रमको आयोजना गरी देवदह नगरपालिकाको १२ वटा वार्डमा कार्यरत मेलमिलाप संयोजकलाई सम्मान तथा नयाँ संयोजकहरुलाई स्वागत गरेको हो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले मेलमिलापकर्ताहरुले कसैलाई काखा र कसैलाई पाखा नगराई नागरिकलाई भेदभाव रहित ढंगबाट न्याय सम्पादन गर्नुपर्ने बताउनुभयो। उहाले न्यायिक क्षेत्रको विश्वास नगुम्ने गरि कार्य गर्न समेत मेलमिलाप कर्तालाई आग्रह गर्नुभयो।
त्यस्तै नगर उपप्रमुख तथा न्यायीक समितिका संयोजक विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकाले न्याय सम्पादनको मामिलामा लगातर २ वर्ष सम्म १ सय पूर्णाङ्ग प्राप्त गरि उत्कृष्टता हासिल गरेको बताउनुभयो। नेपालको संविधानको धारा २१७ मा न्यायीक समिति रहने व्यवस्था रहेको र त्यसको संयोजकमा नगर उपप्रमुख तथा पालिका उपाध्यक्ष रहने व्यवस्था रहेको उल्लेख गर्दै नगर उपप्रमुख गुरुङले देवदह नगरपालिका न्यायीक समिति अन्तर्गत हाल ६६ जना मेलमिलाप कर्ता सुचिकृत रहेर कार्य गरिरहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले मेलमिलाप संयोजक तथा मेलमिलापकर्ता आफैमा प्रतिष्ठित भन्दै रहेको स्थानीय तहमा हुने विवाद व्यवस्थापनका निमित्त निस्वार्थ ढंगले लाग्नुपर्ने बताउनुभयो। देवदह नगरपालिका नगर प्रबक्ता गणेश डुम्रेले पछिल्लो समय लेनदेन र जग्गा सम्बन्धि विवाद लिएर वडाका वासिन्दाहरु अल्लि बढी आउने गरेको बताए। पचास हजार भन्दा बढीको लेनदेनका कारोबारहरू वार्डमा प्रमाणीकरण गरेर गर्न समेत प्रबक्ता डुम्रेले आग्रह गर्नुभयो।
देवदह नगरपालिकाका कानुनि सल्लाहकार डासिराम पाण्डेले मेलमिलापकर्तामा तटस्थता र निश्पक्षता हुनुपर्ने बताउनुभयो। कार्यक्रममा मेलमिलाप संयोजक यम बहादुर आले र दिवाकर गौडेलले मेलमिलापकर्ताको अनुभव र प्रतिबद्दता सुनाउनु भएको थियो।
स्वागत तथा सम्मान कार्यक्रम न्यायीक समितिका संयोजक तथा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ्गको अध्यक्षता, नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यता, न्यायीक समिति सदस्य देवी प्रसाद न्यौपानेको स्वागत र गंगा प्रसाद पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो।