कञ्चन ।
श्री रुद्रपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूह, कञ्चन ३ र ४ रुपन्देहीले आफ्नो समूहका कार्यरत बन हेरालु जित बहादुर थापालाई उपचार खर्च बापत आर्थिक सहयोग गरेको छ। समूहको बन क्षेत्रको तारबार गर्ने क्रममा खुट्टामा फलामको किला गडेर घाइते भएका बन हेरालु थापा उपचार खर्च बापत समूहले नगद ३० हजार रुपैया आर्थिक सहयोग गरेको हो। समूहको स्थापना काल देखि नै निरन्तर बन हेरालुको रुपमा कार्यरत थापाको पाइतलामा फलामको किला गडे पछि खुट्टाको अप्रेसन समेत गर्नु परेको थियो।
समूहका अध्यक्ष पार्वती घर्ति मगरले आर्थिक सहयोग स्वरुप समूहको चेक हस्तान्तरण गर्दै बन संरक्षणमा महत्वपुर्ण जिम्मेवारीका साथ काम गर्दै आउनु भएका बन हेरालु थापाको उपचारको क्रममा आर्थिक सहयोग गर्न नसकिए पनि समूहले अािर्थक ब्यबस्थापन गरी ढिलै भएपनि सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो। यस भन्दा अघिको कार्य समितिको समयमा बन संरक्षणका लागि तारबार गर्ने क्रममा पाइतलामा किला गडेपछि लामो समयसम्म उपचार गर्नु परेको र समूहको काम गर्दा गर्दै घाइते हुनु परेको अवस्थामा थापालाई थोरै भएपनि राहत मिलोस भनि आर्थिक सहयोग गरेको समूहका अध्यक्ष घर्ति मगरले बताउनु भयो।