देवदह।
रुपन्देहीको देवदह ४ स्थित महामाया भवानी मा.विमा एक दिने शैक्षिक मेला सम्पन्न भएको छ। महामाया भवानी मा.विको आयोजना, सोहिया महिला स्वावलम्बी संस्था र स्कुल लाईफ ईन नेपालको सहयोगमा उक्त मेला सम्पन्न भएको हो। विद्यार्थीका अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न पर्छ, विद्यार्थीलाई जागरुक गराउन पर्छ भन्ने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। शैक्षिक मेलाको उद्घाटन गर्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले देवदह नगरपालिकाको शैक्षिक स्तर उकास्न देवदह वासी हातेमालो गरेर लाग्नु पर्ने बताउनुभयो। सिकाई मेलाका प्रमुख अतिथी सापकोटाले दक्ष जनशक्ति उत्पादन गरी समृद्ध नेपाल निर्माण गर्ने सपना पूरा गर्न प्राविधिक संगै व्यवहारिक शिक्षाको खाँचो रहेकोे बताउनुभयो।
कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले शैक्षिक मेलाले विद्यार्थीको सिकाई संस्कार प्रबर्दन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शिक्षाको गुणस्तर उच्च र नमूनायोग्य बनाउन विद्यालयले सिकाई सहितको व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको प्रधानाध्यापक अर्यालको भनाई थियो। सिकाई मेला मात्र नभएर विद्यार्थीको प्रतिभा प्रस्फुटन, बौद्धिक जांच सहित सास्कृतिक र चेतनामूलक प्रस्तुतिले मेलालाई थप औचित्यपूर्ण बनाएको प्रधानाध्यापक अर्यालले औल्याउँनुभयो।