काठमाडौं ।
भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतले नेपालसँग भएको विद्युत् व्यापारसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गर्दै गतसाता भारतको मन्त्रिपरिषद्ले नेपालसँगको दीर्घकालीन विद्युत् व्यापारको विषयलाई अनुमोदन गरेको हो । नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्माले त्यसको पुष्टि गर्नुभएको छ । मंगलबार बिहान राजदूत शर्माले समाजिक सञ्जाल ‘एक्स’ मा भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल गत जेठमा भारत भ्रमणमा गएको बेला विद्युत् व्यापारसम्बन्धी दुई पक्षीय सहमति भएको थियो। भारतको मन्त्रिपरिषदले अनुमोदन गर्न बाँकी रहेकाले सम्झौताको रुप धारण गर्न सकेको थिएन।