एजेन्सी ।
बाहिर कतै हिँड्दा शौचालयकै पिर हुन्छ । सार्वजनिक शौचालय सकेसम्म जानै नपरोस् भन्ने हुन्छ । बाहिरैदेखि गन्हाउने र फोहोर हुँदा सार्वजनिक शौचलयमा पाइला टेक्ने बित्तिकै बान्ता आउला जस्तो हुन्छ । नेपालको सार्वजनिक शौचालयमा जानेहरू सबैको अनुभव लगभग यस्तै छ । तर, विश्वमा यस्तो एउटा शौचालय पनि छ जसको फोटो हेर्दा मात्रै पनि आनन्द आउँछ । यस्तो भन्दा कतिलाई पत्यार नलाग्ला तर चीनमा यस्तै एउटा शौचालय छ जसलाई विश्वकै सबैभन्दा सुन्दर सार्वजनिक शौचालय भनेर नाम दिइएको छ ।
चीनको साङ्घाईको नान्जिङमा अवस्थित डेजी प्लाजा सपिङ मलको छैटौँ तलामा विश्वकै सुन्दर सार्वजनिक शौचालय छ । अडिटी सेन्ट्रलका अनुसार एक्सप्लस लिभिङले डिजाइन गरेको उक्त सार्वजनिक शौचालयमा जाँदा तपाईंलाई अचम्मको दरबारमा आइपुगेको जस्तो भान हुन्छ । यो शौचालयमा प्रवेश गर्ने बित्तिकै लामो कोरिडोर आउँछ, जहाँ हिँड्दा कुनै बगैँचामा हिँडेको जस्तो अनुभूति हुन्छ । यहाँका बोटबिरुवाले यस्तो अनुभव गराउँछ । यस्तै, यहाँको सिलिङमा ठुलठुला बत्ती पनि जडान छन् जसको प्रकाश सिधै चम्किलो भुईँमा ठोक्किन्छ ।