एजेन्सी । इजरायली बमबारी र घेराबन्दीमा रहेको गाजापट्टिको एकमात्र विद्युत् गृहमा इन्धन सकिएपछि बुधवार सेवा बन्द गरिएको प्यालेस्टिनी क्षेत्रको विद्युत् प्राधिकरणले जनाएको छ ।
‘गाजापट्टिको एकमात्र पावर प्लान्टले स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि सेवा दिन सकेको छैन’, प्राधिकरणका प्रमुख जलाल इस्माइलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पछिल्लो आधिकारिक तथ्याङ्कअनुसार इजरायली सेनाले गरेको कारबाहीमा एक हजार ७८ जना प्यालेस्टिनी मारिएका छन् भने प्यालेस्टिनी विद्रोही समूह हमासले गएको शनिवार द्वन्द्व शुरु भएयता एक हजार दुई सय जनाभन्दा बढी इजरायलीको हत्या गरिसकेको छ ।
स्थानीय समयअनुसार शनिवार बिहानै हमासले एक्कासी इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा जल, स्थल र आकाश तीन मार्गबाट प्रवेश गरी आक्रमण गरी निहत्था सयौँ व्यक्तिको हत्या गरेपछि इजरायलले पनि बदलामा हवाई आक्रमण गरेको हो ।