काठमाडौं । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा नेपालले इरानलाई ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कप्तान देव खनालले नेपालका लागि विष्फोटक शतक बनाए । खनालले ६० बलमा १२ चौका र ४ छक्काको मद्दतले शतक पूरा गरेका हुन् । १०० रन बनाएलगत्तै उनी आउट भएका थिए । बोहोरा ५९ बलमा ६५ रन बनाएर आउट भए।
नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५४ रन बनाएको हो । पूरा ५० ओभर खेल्न नसक्दा नेपाल किर्तिमानी स्कोर बनाउने सम्भावनाबाट चुक्यो । १० ओभरको खेल बाँकी छँदा नै नेपालले १० विकेट गुमाएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।
यस्तै दिपक प्रसाद डुम्रेले ४४ बलमा ६९ रन बढाउँदै नेपाललाई विशाल स्कोरतर्फ अघि बढाएका थिए । दीपेश कँडेलले २२ बलमा २९ रन बनाए ।