एजेन्सी । इजरायलको आक्रमण र कठोर नाकाबन्दीका कारण गाजाका अस्पतालहरूमा अत्यावश्यकीय सेवासमेत बन्द हुने अवस्थामा पुगेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाका अस्पतालहरूमा बिजुली, पानी र अत्यावश्यकीय औषधिको अभाव हुन थालेको बताएको बीबीसीले जनाएको छ ।
रेडक्रसले बिजुली र पानीविना गाजाका अस्पतालहरू शवगृहमा परिणत हुने जोखिम रहेको चेतावनी दिएको छ । गाजाको एकमात्र ठूलो ‘पावर प्लान्ट’ मा हिजो इन्धन सकिएको छ । इजरायलले गाजामा खाना, पानी र इन्धन लगायतका सबै वस्तु ठप्प पारेको छ ।
भीषण हवाई हमलाका कारण गाजामा सग्ला भवन देख्न मुस्किल छ । कैयौँ डाक्टर मारिएका छन् भने अस्पतालका भवन ध्वस्त भएका छन् । इजरायलको नाकाबन्दीका कारण नवजात शिशु र बिरामीहरूलाई अक्सिजन दिन नसकिएको, मिर्गाैलाको डायलासिस रोकिएको र एक्स–रे सेवा बन्द हुने अवस्थामा पुगेको आईसीआरसीका निर्देशक फब्रिजियो कार्बोनीले बताउनुभयो ।
इजरायलले हमासले अपहरण गरेका एक सय ५० जना बन्धकलाई रिहा नगरेसम्म गाजामा बिजुली, आधारभूत सेवा र मानवीय सहायतालाई अनुमति नदिने वाचा गरेको छ ।
अघिल्लो शनिवार हमासले इजरायलमा गरेको आक्रमणका कारण १२ सय जनाको ज्यान गएको छ । बदलामा इजरायलले गाजामा हमला गर्दा १३ सय जनाभन्दा धेरैको ज्यान गएको छ । झन्डै दुई हजार जना हमासका लडाकु मारिएका इजरायलको दाबी छ ।