एजेन्सी ।
नयाँ दिल्लीको साकेत अदालतले १५ वर्षअघि टेलिभिजन पत्रकार सौम्या विश्वनाथनको हत्या प्रकरणमा पाँच आरोपीलाई दोषी ठहर गरेको छ । ३० सेप्टेम्बर २००८ मा दिल्लीको नेल्सन मण्डेला रोडमा सौम्या विश्वनाथनलाई गोली हानी हत्या गरिएको थियो। उनी दक्षिण दिल्लीको वसन्त कुञ्ज क्षेत्रमा आफ्नो कारमा मृत फेला परेकी थिइन् । उनको टाउकोमा गोली लागेको थियो । अदालतले दोषी घोषित गरेका पाँच जनामा रवि कपूर, अमित शुक्ला, बलजीत मलिक, अजय कुमार र अजय सेठीको नाम समावेश छ। उनीहरु सन् २००९ को मार्चदेखि जेलमा छन् ।
रवि, अमित, बलजीत र अजय कुमारलाई धारा ३०२ र ३४ अन्तर्गत दोषी ठहर गरिएको छ भने पाँचौं आरोपी अजय सेठीलाई धारा ४११ अन्तर्गत दोषी ठहर गरिएको छ। साकेत अदालतका अतिरिक्त सत्र न्यायाधीश रवीन्द्रकुमार पाण्डेले अब यही अक्टोबर २६ गते सजाय सुनाउने छन् । यस मुद्दाको सुनुवाइ अक्टोबर १३ गते सकिएपछि अदालतले आफ्नो फैसला सुरक्षित राखेको थियो । दिल्ली प्रहरीले सौम्याको हत्याको कारण लुटपाट भएको दाबी गरेको छ । प्रहरीका अनुसार अर्को घटनामा आईटी कार्यकारी जिगीषा घोषको हत्यामा प्रयोग भएको हतियार बरामद भएपछि यस घटनाको ठोस प्रमाण फेला परेको थियो ।
के भएको थियो त्यो दिन-
सौम्याको घटना भएको रात अफिसमा काम गरिरहेकी थिइन् । उनलाई मालेगाउँ र मोडेसा विस्फोटको रिपोर्ट तयार गर्न निकै ढिलो भएको थियो । उनी मध्य दिल्लीस्थित आफ्नो कार्यालयबाट दक्षिण दिल्लीमा रहेको आफ्नो घर वसन्त कुञ्ज जाँदै थिइन् । हत्या हुनुअघि सौम्याले आफ्ना बुवासँग बिहान ३ः१५ मा फोनमा कुरा गरेर छिट्टै घर पुग्ने बताएकी थिइन् ।
तर पछि चालकको सिटमा बेहोस अवस्थामा फेला परेकी सौम्याको टाउकोमा गोली लागेको थियो । उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। त्यसबेला सौम्याको हत्या प्रकरणमा दिल्लीकी तत्कालीन मुख्यमन्त्री शीला दीक्षितको बयानलाई लिएर विवाद भएको थियो । सौम्याको हत्याप्रति दुःख व्यक्त गर्दै दीक्षितले ‘धेरै साहस देखाउनु राम्रो होइन’ भनेकी थिइन् । सौम्या विश्वनाथन मालेगाउँ र मदेसा विस्फोटमा काम गरिरहेकी थिइन्।