एजेन्सी ।
चीनको राजधानी बेइजिङमा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी भएको छ । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो ठूलो ‘अरेन्ज अलर्ट’, शहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।
भोलि मङ्गलवारदेखि बिहीवारसम्म आपत्कालीन उपायहरूको शृङ्खला लागू गरिने बेइजिङ महानगरको पर्यावरण र वातावरण ब्युरोलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । जसअन्तर्गत धेरै प्रदूषण फैलाउने गाडीमाथि अनिवार्य यातायात प्रतिबन्ध लाग्ने छ ।
ब्युरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अरू मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ । ब्युरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुँवा देखिएको बताएको छ ।
मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको अहिलेको अवस्था शुक्रवार सकिने अनुमान छ । विश्वका शहरहरूमध्ये सबैभन्दा धेरै वायु प्रदूषण भएको शहरको सूचीमा बेइजिङ तेस्रो स्थानमा छ । पहिलो नम्बरमा पाकिस्तानको लाहोर र दोस्रोमा इराकको बग्दाद रहेका छन् ।