काठमाडौं ।
आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजको खेलमा ओमान र बहराइन विजयी भएका छन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।
सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित गरेको थियो ।
आज टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । जवाफमा सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रनमात्रै बनायो । यस्तै, मूलपानी क्रिकेट मैदानमा बहराइनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ ओभर एक बलमा एक सय २६ रन बनाएर आउट भयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन १९ ओभर ३ बलमा एक सय ४६ रन बनाउँदै अलआउट भएको थियो । लगातार दोस्रो जित निकालेको ओमान तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ ।