एजेन्सी ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा २ करोड ५० लाख युरो (२ करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताउनुभएको छ ।
‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कुल १० करोड युरो खर्च गर्नेछ’, भोन डेर लेयेनले ब्रसेल्समा ईयुका कुटनीतिज्ञहरूसँग भन्नुभयो । भोन डेर लेयेनले इजिप्टबाट गाजामा सहायताको प्रवाह ‘धेरै सानो रहेको’ र ईयूले साइप्रसबाट समुद्रको माध्यमबाट आपूर्तिसहित अन्य सम्भावित मार्गहरू स्थापना गर्न काम गरिरहेको बताउनुभयो ।
इजरायलका कट्टर समर्थक भोन डेर लेयेनले गाजामा भएको कारबाहीमा ‘नागरिक हताहत हुनबाट जोगिन प्रयास गर्नु’ आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘हमासले निर्दोष प्यालेस्टिनी र बन्धकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको छ । यो भयावह छ र यो विशुद्ध दुष्टता हो । भग्नावशेषमुनिबाट निकालिएका स–साना केटाकेटीहरूको तस्बिर देखेर हाम्रो मन विक्षिप्त बनेको थियो ।’ भोन डेर लेयेनले कुटनीतिज्ञहरूसँग भन्नुभयो, ‘द्वन्द्व चर्किरहेका बेला पनि दुई राज्य समाधानका लागि वातावरण हुनु आवश्यक छ ।’
उहाँले युद्ध रोकिएपछि गाजा आतङ्कवादीहरूका लागि कुनै सुरक्षित आश्रयस्थल हुन नसक्ने र हमासले अब यस क्षेत्रको जिम्मेवारी नलिने बताउनुभएको थियो । उहाँले भन्नुभयो, ‘यसलाई कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विचार–विमर्श र छलफल भइरहेको छ, जसमा संयुक्त राष्ट्र सङ्घको म्यान्डेटअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति बल पनि समावेश छ।’
इजरायली सेनाले सोमवार गाजामा प्यालेस्टिनी लडाकुलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा ज्यान जानेको सङ्ख्या १० हजार पुगेको छ ।