एजेन्सी ।
श्रीलङ्काको पुनरावेदन अदालतले क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई मङ्गलवार खारेज गरेको छ। साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनःबहाली गरेको छ ।
सोमवार श्रीलङ्का क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गर्नुभएको निवेदनलाई अदालतले स्वीकार गरेको छ । ‘अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनःस्थापना दुई हप्ताका लागि हो’, अदालतका एक अधिकारीले भने ।
अदालतले पूर्वकप्तान अर्जुना रणतुङ्गाको अध्यक्षताको अन्तरिम समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश प्राप्त गरेपछि सिल्भा काममा फर्किनुहुने बोर्डका अधिकारीहरूले बताएका छन् । सरकारले बोर्डका ‘थाती मुद्दाहरू’ सम्बोधन गर्न एउटा क्याबिनेट समिति पनि नियुक्त गरेको छ । एकदिवसीय विश्वकपमा भारतसँग श्रीलङ्काको लज्जास्पद हारपछि खेलमन्त्रीले यस्तो कदम चाल्नुभएको थियो ।
व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको देशको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । सन् १९९६ को विश्वकप विजेता श्रीलङ्काका पूर्वकप्तान रणतुङ्गाले सोमवार पदभार सम्हालेपछि बोर्डको छवि सुधार्न र राष्ट्रिय टिमको पुनःनिर्माण गर्ने वाचा गर्नुभएको थियो ।