जगिलाल थापा, कञ्चन।
रुपन्देहीको कञ्चनमा एउटा गाउँभरी नै अम्खरा चोरी भएको छ। आज राती घरका मान्छे सुतेको मौकापारी अज्ञात समूहबाट कञ्चन गाउपालिका वडा नं. ३ स्थित झारगैराका करिब ५०/६०घरबाट घरको मुल ढोकामा राखिएको पुजाका अम्खराहरु चोरी भएका हुन ।
यो समाचार तयार गर्दासम्म कुनै जानकारी नआएको प्रहरीले बताएको छ। यसैगरी कञ्चन ३ का वडा अध्यक्ष टीकाराम सापकोटासंग चोरी भएकोबारे जानकारी लिंदा स्थानीयहरुबाट आफ्नो घरको अमखरा चोरी भएको जानकारी आएको यसबारे थप कुरा बुझिरहेको वडा अध्यक्ष सापकोटाले बताउनु भएको छ।
स्थानीय ओविन सिंजालीका अनुसार झारगैरा, लखनचोक लगायत स्थानहरुबाट ओविन सिंजाली, ओम बहादर थापा, घनश्याम कंडेल सहित अन्यको गरि करिब ५०/६० घरको मुल ढोकामा राखिएका तामा, कांस र पित्तलका अम्खराहरु चोरी भएको हो। यश घटनाको थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट प्रहरी टोली र वडा अध्यक्ष टीकाराम सापकोटा उक्त ठाउँमा जानुभएको छ ।
शुरुमा आफ्नो मात्र होला हराएको भनेर केही नभनेको तर गाउमा छिमेकीहरुसंग कुराकानी गर्ने क्रममा छिमेकी समेत अमखरा चोरी भएको भन्ने थाहा पाएपछि गाउभरीकै अमखरा चोरी भएको भन्ने थाहा भएको स्थानीय ओविन पुन सिंजाली मगरले बताउनुभयो।
घटनाबारे थप विवरण आउन बांकी छ। कञ्चनमा यस अघि पनि अम्खरा चोरी हुने गरेको थियो।