चेन्नई । मिचौङ चक्रवात मंगलबार आन्ध्र प्रदेशको नेल्लोर र मछलीपट्टनमको बिचबाट गुज्रनेछ। भारतको मौसम विभागको जानकारी अनुसार ‘चक्रवात मिचौङ’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको छ ।यो चक्रवात दक्षिण आन्ध्र तटमा समानान्तर सर्नेछ र नेल्लोर र मछलीपट्टनमको बिचबाट मंगलबार बिहान गम्भीर चक्रवाती आँधीको रूपमा प्रवेश गर्ने छ ।आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षा र त्यसले सिर्जना गरेको अवस्थाका कारण राजधानीमा हालसम्म ५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।स्थितिको पूर्वानुमान गर्दै तमिलनाडु सरकारले सावधानीका रूपमा चार जिल्ला चेन्नई, तिरुवल्लुर, कांचीपुरम र चेंगलपट्टुमा बिदाको आदेश दिएको छ। राज्यका सबै ठुला टनेलहरू पानीले भरिएकाले बन्द गरिएका छन् ।सम विभागले आफ्नो विज्ञप्तिमा तिरुवल्लुर, कांचीपुरम, चेन्नई र चेंगलपट्टु जिल्लाहरूमा ६०(७० किलोमिटर प्रतिघण्टादेखि ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने सम्भावना रहेको जनाएको छ । चक्रवात मिचौङका कारण आएको भारी वर्षाका कारण चेन्नईलगायत धेरै जिल्लामा सडक बाढी आएको छ । चेन्नईका धेरै ठाउँमा रुख सडकमा ढलेका छन् । वर्षाका कारण चेन्नईका घरेलु र अन्तर्राष्ट्रिय विमानस्थलहरू डुबानमा परेका छन् र त्यसलाई ध्यानमा राख्दै उडान आवागमन रोकिएको छ । विमानस्थल प्रशासनले सोमबार रातिसम्मका सबै उडान रद्द गरेको थियो । करिब १५० उडान सेवा प्रभावित भएका छन् ।
एजेन्सी ।