बुटवल ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ-बुटवल खण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब यात्रा शुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा आज सोमवार नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्राको शुरुवात भएको हो ।
दबाब यात्रा शुरु हुनु अगाडि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा शुरु गरेको बताउनुभयो । बन्द कोठाभित्र बसेर नीति निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरूको पीडाको बारेमा बोध हुने लामिछानेले बताउनुभयो ।
दुई पटक म्याद थप गर्दासमेत समयमा सडक विस्तारको काम नसकिने देखिएपछि यसलाई अझ बढी सार्वजनिक चासोमा ल्याउन र यसको महत्त्वबारे सबैलाई जानकारी गराउन यो यात्रा जरुरी रहेको उहाँले बताउनुभयो ।
समयमै विकास आयोजनाका काम सम्पन्न गराउनका लागि दबाब सृजना गरिएका विभिन्न कार्यक्रममध्येको एउटा कार्यक्रमका रूपमा दबाब यात्रालाई लिएको उहाँले बताउनुभयो । सभापति लामिछानेले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत सत्कार नगर्न आग्रह गर्नुभयो ।
नागरिकको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्नका लागि मात्रै यात्रामा निस्किएको उहाँले बताउनुभयो ।