दाङ ।
दाङको घोराही उपमहानगरपालिका ६ अघराका ४५ वर्षीय शिवराज केसीको हत्या उनकै गर्लफ्रेन्डका श्रीमानले गरेको खुलेको छ । केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका ४ गदारी जंगलको कोइला खानीमा छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा भेटिएको थियो ।
शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ ।
प्रहरी आज पत्रकार सम्मेलन गरी शेरबहादुरकी श्रीमती दिपा र हत्या गरिएका शिवराज विगत वर्षदेखि प्रेम सम्बन्धमा रहेको र उनीहरूको प्रेमका बारेमा श्रीमान जानकार रहेको बताईएको छ ।
शेरबहादुरले श्रीमती प्रयोग गरेर शिवराजसँग सम्पत्ति हडप्न खोजेको प्रहरीको भनाइ छ । एसपी केसीका अनुसार पुस ८ गते दिपाले प्रेमी शिवराजलाई श्रीमानको योजनामा फोन गरेर कोइलाखानी बोलाएकी थिइन् । प्रेमीका भेट्न कोइलाखानी पुगेका शिवराजलाई सुरूङभित्र लगेर बन्धक बनाइ दुई कठ्ठा जग्गा दिन दबाब दिइएको थियो ।
प्रहरीका अनुसार शिवराजको हत्यामा प्रयोग गरिएको भरूवा बन्दुक अवैध हो । अभियुक्तहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका अभियुक्तहरुको बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलिका खोका प्रहरीले बरामद गरिसकेको छ । घटना बारे विस्तृतरुपमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??