पोखरा ।
चौथो संस्करणको टाइगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलि सोमबारदेखि पोखरामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा प्रतियोगिता हुने भएको हो । माघ ६ गतेसम्म चल्ने प्रतियोगितामा २ विदेशीसहित नेपाली टिमले सहभागिता जनाएका छन् । महिलातर्फ भारत हरियाणा पुलिस क्लब र पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले विदेशी टिमको प्रतिनिधित्व गर्नेछन् ।
प्रतियोगितामा दुवैतर्फ विजेतालाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार दिइनेछ । उपविजेता टोलीले २ लाख ५५ हजार ५ सय ५५ र तेस्रोले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । पुरुष तथा महिला सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ ।