एजेन्सी ।
विगत लामो समयदेखि अमेरिकासँगको आफ्नो तनावपूर्ण सम्बन्ध तथा आफ्नो परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्ध झेलिरहेको उत्तर कोरिया पछिल्लो पटक एक नयाँ विषयको कारणले गर्दा चर्चामा छ ।
उत्तर कोरियामा तयार गरिने कृत्रिम परेला तथा कृत्रिम कपाल (विग) विश्वभरका बजारमा बिक्री भैरहेका छन् । तर ती सामानहरुमा ‘मेड इन उत्तर कोरिया’ होइन कि ‘मेड इन चाइना’को ट्याग लगाइएको छ । नक्कली कपाल र नक्कली परेलाको उक्त व्यापारका कारण उत्तर कोरियाको निर्यातमा वृद्धि भएको छ र देशको अर्थव्यवस्थामा पनि त्यसको प्रभाव परेको छ ।
समाचार एजेन्सी रोयटर्सको एक रिपोर्ट अनुसार उत्तर कोरियामा उत्पादन भैरहेको कृत्रिम परेलाको प्रोसेसिंग तथा प्याकेजिंग चाहिं छिमेकी मुलुक चीनमा भैरहेको छ, जो उसको सबैभन्दा ठूलो व्यापारिक सहयोगी हेा । रिपोर्टमा भनिएको छ कि यो व्यवसायका माध्यमबाट किम जोंग उनको नेतृत्वमा रहेको उत्तर कोरियाली सरकार आफूमाथि लागेको अन्तर्राष्ट्रिय प्रतिबन्धलाई छल्दै देशका लागि आवश्यक विदेशी मुद्रा आम्दानी गरिरहेको छ । रोयटर्सले आफ्नो रिपोर्टमा उत्तर कोरिया तथा चीनको यसबारेको प्रतिक्रिया जान्नका लागि संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाको नियोग, चीनमा रहेको उत्तर कोरियाली राजदूतावास तथा दान्दोंगस्थित उसको कन्सुलर कार्यालयसँग सम्पर्क गरेता पनि त्यस विषयमा कुनै पनि प्रतिक्रिया प्राप्त नभएको जनाएको छ ।
एता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र उत्तर कोरिया असल छिमेकी भएको बताउँदै दुई मुलुकबीच सामान्य सहयोगको सम्बन्ध रहेको र त्यो पूर्णरुपमा वैध रहेको दाबी गरेका छन् । साथै उक्त सम्बन्धलाई बढाइचढाइ गरेर प्रचार गर्नु आवश्यक नरहेको उनको भनाइ छ ।