काठमाण्डौ ।
फुल प्रेमको प्रतीक हो । मानिसहरु आफूले मन पराएको व्यक्तिलाई गुलाबकै फुल दिएर प्रेम प्रस्ताव राख्छन् । अहिले चलिरहेको भ्यालेन्टाईन डेमा पनि बढी गुलाफको फुल माग हुने गरेको छ । माग धेरै हुने भएकोले यसै पनि गुलाबको फूल महँगो हुन्छ । हालैका वर्षहरूमा गुलाबको फूलको भाउ बढ्दै गइरहेको छ । तर संसारमा यस्तो पनि गुलाबको फूल छ जसको मूल्य सुनेर तपाईँको होसहवास उड्नेछ । यो गुलाबको फूललाई के भनिन्छ तपाईँलाई थाहा छ ?
संसारभर गुलाबका अनेकौँ प्रजाति पाइन्छ । तर जुलियट रोज यस्तो प्रजाति हो जसको सुगन्धभन्दा पनि धेरै मूल्यको चर्चा संसारभर धेरै हुने गरेको छ । यो गुलाफ फूललाई तिरिने पैसाले दर्जनौँ घर वा कयौँ थान मर्सिडिज, अडी वा बीएमडब्ल्यू कार नै किन्न सकिन्छ । संसारका अति धनाढ्यहरुले समेत यो फूल किन्नुअघि एक पटक त पक्कै सोचविचार गर्छन् होला । यो फूलको विशेषता के हो ? यो किन यति महँगो हुन्छ । आज रोज डेको दिनमा यसैबारे चर्चा गरौँ ।
यो फूलको मूल्य अहिलेको समयमा २ अर्ब ८ करोड नेपाली रुपैयाँ हाराहारी पर्दछ । जुलियट रोजबारे पहिलो पटक विश्वलाई सन् २००६ मा थाहा भएको हो । चर्चित रोज ब्रीडर डेभिड अस्टिनले यो फुलको प्रजातिको विकास गरेका थिए । डेभिडले कयौँ प्रजातिका गुलाबलाई मिलाएर यो गुलाबको बोट बनाएका थिए ।
त्यति बेला उनले यो गुलाबलाई ९० करोड भारु (१ अर्ब ४४ करोड नेरू)मा बेचेका थिए । यो फुलमा त्यस्तो के हुन्छ र यो यति महँगो हुन्छ ? यो गुलाबलाई उमार्न उनले १५ वर्षको समय र ५० लाख डलर (६ करोड ६६ लाख नेरू) खर्च गरेका थिए । डेभिड अस्टिनको वेबसाइटका अनुसार यो गुलाबको वासना चियाको मन्द वासनाको जस्तै हुन्छ ।
एजेन्सीको सहयोगमा ।