रुपन्देहीको कञ्चन गाउँपालिका – ०३ स्थित हरैया बहुमुखी क्याम्पसको १७औँ वार्षिकोत्सव तथा क्याम्पस सभाको पूर्वसन्ध्यामा खुल्ला रक्तदान एवम् बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी , कञ्चन उपशाखासँगको सहकार्यमा खुल्ला रक्तदान तथा बुटवल – ०६ , अस्पताललाइनस्थित आयुष मेडिकल हलको आर्थिक तथा प्राविधिक सहयोगमा बृहत् स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
४१ जना स्वेच्छिक रक्तदाताबाट ४१ युनिट रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी कञ्चन शाखाका उपसभापति तथा रुपन्देही जिल्ला सदस्य हेमा बेल्वासेले जानकारी दिनुभयो ।
यता बृहत् स्वास्थ्य शिविरतर्फ जनरल फिजिसियन , हाडजोर्नी , मेरुदण्ड , नशा तथा बालरोग , नाक , कान , घाँटी , स्त्रीरोग तथा प्रसूति , दाँतलगायत विभिन्न स्वास्थ्य समस्या भएका ५०० बढी बिरामीको स्वास्थ्य जाँच गरी निशुल्क औषधी तथा परामर्श सेवा प्रदान गरिएको हो ।
कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष चुरामणि शर्माको अध्यक्षता , कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरको प्रमुख आतिथ्यता , वडा नं. का अध्यक्ष टेकबहादुर गुरुङ र कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचनको विशिष्ट आतिथ्यता , क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष शेरबहादुर श्रीस , सदस्य पुष्पराज शर्मालगायतका महानुभावहरुको आतिथ्यता , हरैया बहुमुखी क्याम्पस जनसम्बन्ध तथा सूचना व्यवस्थापन इकाईका संयोजक दीपक भुसालको स्वागत र लेखापाल कपिलमणि पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरले गाउँपालिकाकै एकमात्र उच्च शैक्षिक संस्था हरैया बहुमुखी क्याम्पसका गतिविधिहरुको नियमित अवलोकन गरिरहेको र आफू त्यसबाट गौरवान्वित भएको बताउनुभएको छ साथै क्याम्पसको बृहत्तर हितका लागि पालिका सधैँ तयार रहेको कुरा व्यक्त गर्नुभएको छ ।
कार्यक्रमका अध्यक्ष चुरामणि शर्माले क्याम्पसले आयोजना गरेको रक्तदान तथा बृहत् स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
कार्यक्रममा रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको छ साथै स्वास्थ्य शिविरका लागि सहकार्य गर्ने आयुष मेडिकल हलका सञ्चालक तुल्सीराम शर्मा र विभिन्न स्वास्थ सेवा उपलब्ध गराउनुहुने डाक्टर र प्राविधिकहरुलाई क्याम्पसका तर्फबाट सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको छ ।
क्याम्पसले आगामी फागुन ०३ गते आफ्नो १७औँ वार्षिकोत्सव तथा क्याम्पस सभा मनाउन गइरहेको छ ।