काठमाण्डाै ।
अमेरिका लैजाने भन्दै ११ जना भारतीयलाई काठमाण्डौमा बन्धक बनाउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी परिसर काठमाण्डौले घटनामा संलग्न आठ जना भारतीयलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा इन्दु सिंह यादव, निपुन गुप्ता, चरण जित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिष कुमार मल्होत्रा, रवि मिवदे र राम चन्द्र शर्मा छन् ।
प्रहरीका अनुसार यिनीहरूले विभिन्न देशका नागरिकलाई युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतका देशमा पठाउने भनी नेपाली भूमि प्रयोग गरेर बन्धक बनाउने गरेको जनाएको छ । यिनीहरूले मेक्सिकोको भाषा, समय, संस्कृति, सङ्गीत आदिसँग मिल्ने खालको कृत्रिम वातावरण बन्धक बनाएकै घरमा सृजना गरी भिडियो कलमार्फत आफन्तलाई देखाएर अमेरिकासम्म पुग्न लाग्ने खर्च भारतीय रुपैयाँ ४० लाख वा त्योभन्दा बढी रकम भारतमा रहेको एजेन्टहरूको हातमा जम्मा गर्न लगाउने गरेका अनुसन्धानबाट खुलेको छ । प्रहरीले बन्धक बनाउने समूहलाई पक्राउ गर्न ‘अपरेशन डङ्की’ चलाएको थियो ।