एजेन्सी ।
सशस्त्र समूहले जारी राखेका आक्रमण र आन्दोलनका कारण हाइटीका प्रधानमन्त्री एरियल हेनरी आफ्नो देश फर्कन नसकेपछि अमेरीकी क्षेत्र पोर्टो रिको पुग्नुभएको छ । उहाँ अमेरिकी राज्य न्यु जर्सीबाट पोर्टो रिकोको राजधानी सान जुआन पुग्नुभएको हो । उहाँ देशमा नहुँदा हाइटीमा हिंसा बढिरहेको बीबीसीले जनाएको छ ।
सशस्त्र समूहले प्रधानमन्त्री हेनरीलाई अवतरण गर्नबाट रोक्न अन्तर्राष्ट्रिय विमानस्थलमा कब्जा गर्न खोजिरहेका थिए । हाइटीमा भइरहेको समस्या समाधानमा प्रधानमन्त्री निष्क्रिय भएको सङ्केत गरेको खबरमा उल्लेख छ ।
यसका कारण हाइटी असफल राज्य बन्न सक्ने आँकलन गरिएको छ । सशस्त्र समूहले प्रधानमन्त्रीले पद त्याग गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका हुन् । उनीहरुले देशको राजधानीको ८० प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेका छन् ।
पहिले भएको एउटा राजनीतिक सहमति अनुसार प्रधानमन्त्री हेनरीले गएको फेब्रुअरी ७ सम्म पद छोड्नुपर्ने तथा चुनाव गर्नुपर्ने उल्लेख थियो । तर सहमतिको पालना नभएपछि विद्रोहका घटना बढेका छन् । सन् २०२० देखि नै गृहयुद्ध हुँदै आएको हैटीमा हजारौँले ज्यान गुमाइसकेका छन् ।