एजेन्सी ।
सन् २०१४ को मार्च ८ तारिख । विश्व नागरिक उड्डयन इतिहासमा यो मिति आजसम्म पनि विशेष र रहस्य बनेर रहेको छ । ठिक १० वर्षअघि आजैको दिन मलेसियन एयरलाइन्सको फ्लाइट ३७० रहस्यमयी तरिकाले हराएको थियो । घटना भएको १० वर्ष बितिसक्दा पनि उक्त विमानमा सवार यात्रुका आफन्तहरू अन्योल र आशामा जीवन बिताइरहेका छन् । खासमा सन् २०१० को मार्च ८ तारिखका दिन उक्त विमान क्वालालम्पुरको अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको थियो ।
मलेसियन एयरलाइन्सद्वारा सञ्चालित उक्त बोइङ ७७७ विमानमा दुई सय २७ यात्रु र चालक दलका १२ जना सवार थिए । क्वालाम्पुरबाट उडान भरेको ३८ मिनेटसम्म एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग चालक दलको सम्पर्क भइरहेको थियो ।
लामो समयसम्म विमानसँग सम्पर्क हुन नसकेपछि खोजी तथा उद्धार कार्य अगाडि बढाइएको थियो । तर, त्यसपछि दुई सय ३९ जना सवार त्यो विमान कहिल्यै सम्पर्कमा आएन । लामो समयसम्म विमानको खोजी कार्य गरियो ।
त्यो विमान आफ्नो पूर्वनिर्धारित ‘रुट’ बाट अन्यत्रै मोडिएको समाचारहरु पनि प्रकाशमा आएका थिए । उक्त विमानले आफ्नो निर्धारित मार्गभन्दा पश्चिमतर्फ लागेर मलाय प्रायद्विप र अन्डमान सागर पार गरेको दाबी पनि गरिएको थियो । यो तथ्य सैन्य राडारमा देखिएको बताइएको थियो ।
कतिपय विज्ञँले उक्त विमान विशाल महासागरको कुनै भागमा दूर्घटनाग्रस्त भएको अनुमान पनि लगाएका थिए । हराइरहेको उक्त विमानको खोजी कार्यलाई उड्डयन इतिहासकै सबैभन्दा महँगो मानिएको छ ।
लगातार तीन वर्ष खोजी गर्दा पनि विमानको बारेमा ठोस र स्पष्ट जानकारी प्राप्त नभएपछि खोजी कार्य बन्द गरिएको थियो । त्यसअघि विशाल महासागरको एक लाख २० हजार वर्ग किलोमिटर क्षेत्रमा विमानको खोजी गरिएको थियो ।
सन् २०१५ र सन् २०१६ को बिचमा पश्चिम हिन्द महासागरको थुप्रै स्थानमा विमान दूर्घटनाको थुप्रै अवशेषहरु फेला परेका थिए । ती अवशेषहरु हराइरहेको मलेसियन एयरलाइन्स फ्लाइट ३७० कै भएको अनुमान पनि गरियो । तर, त्यसलाई पनि ठोस प्रमाणद्वारा पुष्टि गर्न सकिएन ।
विमान हराएको करिब दुई वर्षपछि तान्जनियामा पनि जहाजको केही अवशेष फेला पारिएको थियो । ती अवशेष पनि मलेसियन एयरलाइन्स फ्लाइट ३७० कै रहेको दाबी गरिएको थियो । मलेसिया सरकाले पनि ती अवशेष फ्लाइट ३७० कै भएको दाबी गरेको थियो । तर, यो तथ्यलाई पनि कुनै ठोस प्रमाणद्वारा भने पुष्टि गरिएको छैन ।
दी गार्जियन समाचारपत्रले प्रकाशित गरेको समाचारका अनुसार, फ्लाइट ३७० जहाजको पखेटाजस्तो देखिने फलामे बस्तु तान्जनियाको समुद्री तटको बाहिर रहेको पेम्बा टापुमा भेटिएको थियो । यसका अतिरिक्त मडागास्करमा पनि स्थानीयले जहाजका केही टुक्रा भेटेको बताएका थिए ।
यसैगरी दुर्घटनाका खोजीकर्ताले फ्रेन्च आइल्याण्ड अफ रियुनियनमा पनि हराइरहेको फ्लाइट ३७० को केही अवशेष फेला पारिएको दाबी गरेका थिए । वास्तविक्ता के हो भने, फ्लाइट ३७० अहिलेसम्म पनि नागरिक उड्डयन इतिहासमै एउटा रहस्य बनेर रहेको छ ।